काठमाडौं :जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक तथा स्रोतामाझ आएका छन् । धरानमा हुर्किएका यी २१ वर्षीय दृष्टिविहीन् गायक गगन आलेले आफ्नै शब्द, संगीत तथा स्वरको पहिलो गीत ‘मेरो गीत तिमीलाई हो…’ मंगलवार सार्वजनिक गरेका हुन् । यी युवा गायकले आफ्ना आमा–बुवाको २३ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर ओएसआर डिजिटलको यूट्युब च्यानलमार्फत आफ्नो पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । एसडि म्युजिक प्रोडक्सनको संगीत संयोजनमा बनेको यो गीतमा सुशिल विक्रम शाहको मिक्सिङ तथा मास्टरिङ रहेको छ भने गीतका रेकर्डिष्ट पनि उनै हुन् । गुञ्जन रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । गायक आले तथा गीतको भिडियोकी मोडल समी लावतीको स्क्रिप्टमा यसको सुन्दर म्युजिक भिडियो तयार पारिएको छ । कृष्णदेव रुपाखेतीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा गायक गगन आले तथा मोडल समी लावतीको जोडीले सुन्दर अभिनय गरेका छन् । गगन झैँ समी पनि जन्मजात दृष्टिविहिन् हुन् । दुबै दृष्टिविहिन् कलाकारले भिडियोमा निकै प्रभावकारी भूमिका निर्वाह गरेका छन् । दृष्टि विहिन् व्यक्तिको मनमा पनि प्रेमको भावना जागृत हुनसक्छ, उनीहरु पनि सामान्य मानिसहरु झैँ भावुक हुन्छन्, उनीहरुको दृष्टिकोण र जीवन भोग्ने भोगाइ पनि अन्य सामान्य मानिसको भन्दा पृथक हुँदैन भन्ने भावना गीत तथा भिडियोमा प्रस्तुत गरिएको छ । मुकेश हुमागाईँ तथा समुहले छायांकन गरेको यो गीतको भिडियोमा राहुल बराइलीको कोरियोग्राफी छ । मिन रावलद्वारा सम्पादन गरिएको यो भिडियोमा काठमाडौंको फर्पिङ क्षेत्रका आकर्षक लोकेशनहरु देख्न सकिन्छ । भिडियोमा दृष्टिविहिन् भए पनि कलाकारद्वय गगन तथा समीलाई अभिनय गराउन खासै असहज नभएको निर्देशक रुपाखेतीको भनाइ छ । ‘उहाँहरु वास्तवमै सामान्य मानिसहरु झैँ हरेक कुरामा सक्षम हुनुहुन्छ, हामीले भिडियोमा पनि उहाँहरुले दैनिक जीवनमा जे–जे गर्दै आइरहनु भएको छ, तिनी कुराहरुलाई चित्रण गरेका छौं, निर्देशक रुपाखेती भन्छन्– ‘मुख्य कुरा उहाँहरुमा पनि प्रेमिल भावना हुन्छ, उहाँहरु पनि रोमान्टिक बन्नु हुन्छ । त्यही रोमान्टिक अनि प्रेमिल क्षणलाई हामीले भिडियोमा कैद गरेका छौं ।’
The post दृष्टिविहीन् गगनको गीत समीलाई first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...